Tuesday, March 7, 2017

सप्तरी घटनाबारे अमेरिकाबाट आयो यस्तो प्रतिक्रिया

काठमाडौं, २४ फागुन । संयुक्त राज्य अमेरिकाले सप्तरीको राजविराजमा सोमबार साँझ भएको हिंसात्मक घटनाप्रति गम्भीर रूपमा चिन्ता व्यक्त गरेको छ ।

मंगलबार काठमाडौंस्थित अमेरिकी राजदूतावासले एक विज्ञप्तिमार्फत घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सबैलाई आग्रह गरेको हो । उसले निषेधको राजनीति नगर्न सम्बन्धित पक्षलाई सुझाव पनि दिएको छ ।

अमेरिकाले राजनीतिक बहसमा हिंसाले स्थान पाउनु नहुनेमा जोड दिँदै अगाडि भनेको छ- ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन् ।’

मेची महाकाली अभियान अन्तर्गत एमालेको कार्यक्रम विथोल्ने क्रममा सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ भएको झडपमा प्रहरीले चलाएको गोली लागी मलेठ–२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ–४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज–९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साहको मृत्यु भएको थियो ।


अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै:
नेपालका केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको झडपप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन । नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ । त्यसै गरी हामी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौँ ।

नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्‍न पाउँदा हामी उत्साहित छौँ । संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो । नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा संयुक्त राज्य अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।

Write Comment Below:

No comments:

Post a Comment