|
|
घोराही, २२ फागुन । केटी जिस्क्याएको आरोपमा पक्राउ परेका छोरालाई छुटाउन प्रहरी कार्यालय पुगेका नेपाली कांग्रेस दाङका पूर्व सभापति वीरकेशरी गौतम आफै खोरमा परेका छन् ।
युवतीलाई जिस्काएको र कुटपिट गरेको आरोपमा शुक्रबार (फागुन २० गते) गौतमका छोरा प्रविणलाई पीडित युवतीको उजुरीमा वडा प्रहरी कार्यालयले घोराहीस्थित भरतपुरमा रहेको घरबाटै पक्राउ गरेको थियो ।
पक्राउ गरेलगत्तै छोरा प्रवीणलाई छुटाउन प्रहरी कार्यालय पुगेका गौतमले ‘मेरो छोरा निर्दोष छ, किन हिरासतमा राख्ने’ भन्दै प्रहरीलाई सरुवाको धम्की दिएपछि उनलाई वडा प्रहरी कार्यालय घोराहीले समातेर एकछिन हिरासतमा राखेको हो ।
दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले केटी जिस्क्याएको आरोपमा पक्राउ परेका आफ्नो छोरालाई छुटाउन वडा प्रहरी कार्यालय घोराहीमा गौतम आएको र त्यस विषयलाई लिएर राजनीतिक पावर देखाएर प्रहरी अधिकारीमाथि जथाभावी गालीगलौज गरेपछि समस्या उत्पन्न भएको बताए ।
स्रोतका अनुसार गौतमले ‘गृहमन्त्री विमलेन्द्र निधिको मान्छे हुँ’ भन्दै घोराहीका प्रहरी प्रमुख इन्सपेक्टर सूर्यबहादुर थापालाई सरुवा गरिदिने धम्की दिएका थिए । त्यसपछि भनाभन भएको र गौतमलाई पहिला कार्यालयबाट बाहिर निकालेको र त्यतिमा पनि नरोकिएपछि प्रहरी जवानले एकछिन हिरासत राखेका थिए ।
यता नेता गौतमले सामान्य कुरालाई लिएर प्रहरी अधिकारी थापाले आफूमाथि अभ्रद व्यवहार गरेको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । घटनाप्रति कांग्रेस दाङको पनि ध्यानाकर्षण भएको छ । कांग्रेस दाङका पूर्व सभापति गौतममाथि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख इन्सपेक्टर थापाले दुर्व्यवहार एवं अपमानजनक व्यवहार गरेको आरोप कांग्रेसको छ ।
काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले ज्यादतिको गरेको आरोप लगाए । ‘सामान्य घरायसी विवादका कारण केही व्यक्तिहरुलाई थुनेको विषयमा कुरा बुझ्न जाँदा नेता गौतमलाई प्रहरीले दुर्व्यवहार मात्रै गरेन्, हिरासतमा समेत राखियो,’ विज्ञप्तिमा भनिएको छ– ‘यो राजनीतिक पूर्वाग्रह हो ।’
कांग्रेसले इन्सपेक्टर थापामाथि कारबाहीको माग राख्दै त्यसो नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
यसैबीच, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेर प्रहरीले कांग्रेसका पूर्व सभापति गौतमलाई दुर्व्यवहार गरेको भन्दै निन्दा एवम् भत्र्सना गरेका छन् ।
उनीहरूले गौतमलाई प्रहरीले दुर्व्यवहार गरेको विषय मात्रै उठाएपनि युवतीहरूलाई गौतमका छोराले कुटपिट गरेको र यौनजन्य क्रियाकलाप गरेको विषय भने विज्ञप्तिमा उल्लेख गरेका छैनन् ।-dainik nepal
|
|
No comments:
Post a Comment